पोखरा–३२ को तालखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन अस्थायी पुल बनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा–३२ को तालखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन अस्थायी पुल बनाइने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हट्ने भएको छ ।

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको टोलीले आइतबार जोखिमयुक्त पुलको स्थलगत निरिक्षण गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो । केही सञ्चार माध्यममा पुलको जोखिमपूर्ण अवस्थाको बारेमा सार्वजनिक भएपछि मन्त्री जुग्जालीले चासो दिएर आफै निरिक्षणमा गई अस्थाई पुल बनाउन अगुवाई गरेका हुन् ।

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, मन्त्रालयको योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, मन्त्रीका निजी सचिव ई. आनन्द भट्टराई लगायतको टोलीले सो स्थानको निरीक्षण गरेका हुन् ।

    May be an image of 11 people

    सो ठाउँमा दश दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउन पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएको मन्त्री जुग्जालीले बताए। पोखरा–३२ का वडा अध्यक्ष कार्कीले वडा, महानगर र मन्त्रालयले समन्वय गरेर तत्काल अस्थायी पुल बनाएर जोखिमपूर्ण रुपमा आवत जावत गर्नुपर्ने हटाउने सहमति गरेको जानकारी दिए । “पक्कि पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावमा कार्यान्वयन भएको छैन्,” उनले भने “दिर्घकालिन समस्या समाधानका लागि पक्कि मोटरेबल पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरेका छौ ।”

    May be an image of body of water

    वडा अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन् । तालखोलामा आवत जावत गर्न बनाइएको पक्कि कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवत जावत गर्दै आएका छन् ।

    आधा भाग भत्किएर खोलामा खसेको पुलको सल्यामाथि राखिएको बाँस र काठमा टेकेर जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने अवस्था छ । बर्खायाममा तालखोलामा बाढी आउँदा खोलाबाट वारपार गर्न पनि सक्दैनन् । पुलबाट खसेमा खोलाले बगाउने अवस्था छ । सो पुलको कहालीलाग्दो दृष्यले दुर्गम र विकट ठाउँको झल्को दिन्छ ।