मुस्ताङमा बाढी : कागबेनीका प्रहरीचौकी, धर्मशालामा क्षति, विद्युत् आपूर्ति बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुस्ताङमा बाढी : कागबेनीका प्रहरीचौकी, धर्मशालामा क्षति, विद्युत् आपूर्ति बन्द

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८०, आईतवार

    मुस्ताङ । छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ ।

    झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ ।

    ‘बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खबर छैन । प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ । बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ । थप विवरण आउन सकेको छैन,’ मुस्ताङका जिल्ला प्रहरी प्रमुख डीएसपी रवीन्द्र पौडेलले भने, ‘कागवेनी र जोमसोम बीचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’

    मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ । (इकान्तिपुर)