दमौली । जिल्ला समन्वय समिति तनहुँले निर्माण गरेको व्यापारिक सटरको टेण्डर खोलिएको छ । व्यास-३ मालपोत लाइनमा निर्माण गरिएको सटरको सोमबार टेण्डर खोलिएको हो ।
मुख्य चोकको ए २५ नम्बरको सटर ४८ हजार ५ सय ५५ मा कबोल भएको छ । उक्त सटरका लागि आइतसिं बमले सबैभन्दा बढी कबोल गरेका छन् ।
सोही सटरका लागि लक्ष्मी वाइवाले रु ४२ हजार ५ सय ५५ कबोल गरेकी थिइन् । त्यस्तै लामा जुसले रु ४१ हजार ५ सय ९९ कबोल गरेका थिए ।
सो सटरको न्यूनतम मूल्य ११ हजार ५ सय थियो। अन्य सटरको भने न्यूनतम मूल्य रु नौ हजार पॉच सय थियो ।
समन्वय समितिले २४ वटा सटरका लागि टेण्डर आव्हान गरेको थियो । बोलपत्र हाल्ने समय सोमबार दिउँसो १२ बजेसम्म रहेको थियो । २४ वटा सटरका लागि ८७ जनाको बोलपत्र परेको थियो ।