जिल्ला समन्वय समिति तनहुँमा तालाबन्दी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला समन्वय समिति तनहुँमा तालाबन्दी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । जिल्ला समन्वय समिति तनहुँमा तालाबन्दी गरिएको छ । व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणको अन्तिम चरणमा पुगेको जिल्ला सभागृह अपांगतामैत्री बनाउनुपर्ने माग सहित आन्दोलित अपांगता अधिकारकर्मीले सोमबार जिल्ला समन्वय समितिमा तालाबन्दी गरेका हुन् ।

    पहुँचयुक्त जिल्ला सभागृह हल निर्माणका लागि अपाङ्गता भएका व्यक्तिहरुको सङ्घर्ष समितिका संयोजक मदन पौडेलको नेतृत्वमा समन्वय समितिको मुख्य भवन र समन्वय अधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

    भदौ १ गतेदेखि सुरु आन्दोलनको कार्यक्रम अनुसार जिल्ला समन्वय समितिमा तालाबन्दी गरिएको पौडेलले बताए । सभागृह अपांगतामैत्री नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

    समितिले गत साउन १० गते जिल्ला समन्वय समितिलाई सभागृह अपाङ्गतामैत्री बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तत्पश्चात सकेसम्म सहमतिबाट निकास निकाल्नका लागि सस्थाको तर्फबाट सरकारी पक्षसँग अनौपचारिक छलफल गर्ने काम समेत भयो तर आलटाल गर्ने काम मात्र भएको पौडेलको आरोप छ ।

    संस्थाको अनुरोध पश्चात राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले मिति साउन २१ गते अपाङ्गता अधिकारकर्मीहरुको प्रत्यक्ष अवलोकनमा उक्त हलको पहुँचयुक्तता परीक्षण गरेको थियो । उक्त पहुँचयुक्तता परीक्षणबाट देखिएका विषयहरूलाई १४ बुँदे सुझाव मार्फत् सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएपनि सरकारी पक्ष कानमा तेल हालेर बसेको पौडेलको भनाइ छ ।