दमाैली । तनहुँको व्यास नगरपालिका–३ मा निर्माण सम्पन्नको चरणमा रहेको सभागृहको नाम परिवर्तन गर्ने जिल्लासभाको निर्णय सच्याउन माग गर्दै जिल्ला समन्वय समिति तनहुँलाई ज्ञापनपत्र बुझाइएको छ ।
तनहुँमा क्रियाशील नेकपा (एमाले), नेकपा (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत बाह्र वटा राजनीतिक दलका प्रतिनिधिले आज समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
जिल्ला समन्वय समितिको विसं २०७८ चैत ८ गतेको निर्णय र चैत ९ गते जिल्ला सभाको निर्णय अनुसार सभागृहको नाम विपी सदन सभा गृह दमौली तनहुँ राख्ने निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको नेकपा (एमाले) का उपाध्यक्ष हरिराज कंडेलले जानकारी दिए । राष्ट्रिय स्तरको व्यक्तित्वलाई विवादमा ल्याउने काम गर्न नहुने भन्दै कंडेलले सबै दलसँग यसबारे परामर्श गर्न आवश्यक रहेको बताए ।
नेकपा (माओवादी) व्यास नगर समन्वय समितिका संयोजक रामचन्द्र सापकोटाले सभागृह निर्माणको सम्झौताकै बेलामा जे नाम थियो सोही नाम हुनुपर्ने पार्टीको प्रष्ट धारणा रहेको उल्लेख गरे ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी गण्डकी प्रदेश समितिका सदस्य नेत्र रानाभाटले विसं २०३५ सालकै जिल्ला सभागृह तनहुँबाट सम्झौता अनुसारको दमौली सभाहल नामाकरण गर्नुपर्ने बताए ।
सभागृहको नाम परिवर्तन गर्ने निर्णयले तनहुँवासीको मनोभावनामा मात्र ठोस नपुगी प्रजातान्त्रिक समाजवादका आदर्शवान नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनैतिक व्यक्तित्वलाई समेत विवादित बनाउने काम भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै समन्वय समितिका प्रमुख वाग्लेले नामको विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउँदै सभाकै सदस्यहरुमध्येबाट यसको प्रस्ताव आए सभामा छलफल गर्न सहज हुने धारणा राखे । उनले भने, “त्यतिबेला सबैको सहमतिमा नामको निर्णय भएको हो । आफैले गरेको निर्णय उपर मैले प्रस्ताव लैजान नैतिक रुपमा अप्ठ्यारो हुन्छ । सभाकै कोही सदस्यबाट प्रस्ताव आए यसमा छलफल गर्न सजिलो हुन्छ ।”
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ । हाल भवनमा रङरोगनको काम भइरहेको छ ।