चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल (साधारण) शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए।
पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ ।
यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ । अस्पतालको तर्फबाट एक महिलासहित दुई चिकित्सक नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको डा पौडेलले जानकारी दिए।
लामो समयको अन्तरालपछि कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले आफूले पूर्णकालीनरूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताए । उनले भने, “म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु”, अस्पताललाई सुधार्ने प्रतिबद्धता उनकाे छ । पौडेलले अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्रै उपचार गर्ने व्यवस्था गर्ने बताए।