कोलम्बो । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भिडन्तमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन जोड्यो । भारतका विराट कोहली र केएल राहुलले सतक बनाए ।
कोहली १२२ र राहुल १११ रनमा अविजित रहे । उनीहरुले दोस्रो विकेटका लागि २३३ रनको साझेदारी गरेका छन् ।
कोहलीले ९४ बलमा ३ छक्का र ९ चौका प्रहार गरे । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७औं शतक बनाएका छन् । उनले १३ हजार रन पनि पूरा गरेका छन् । यस्तै राहुलले १०६ बलमा २ छक्का र १२ चौका हिर्काए ।
भारतले पाकिस्तानविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै धेरै रन बनाएको छ । वर्षाले रोकिएर रिजर्भ डेमा सोमबार २४.१ ओभरमा १४७/२ को स्थितिबाट भारतले पाली अगाडि बढाएको थियो ।
भारतले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गरेको थियो । रोहित शर्माले ५६ र सुभमन गिलले ५८ रन बनाएका थिए ।