काठमाडौँ । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तानले भारतसँग ठूलो पराजय भोगेको छ । सोमबारको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको छ ।
वर्षाका कारण आइतबार रोकिएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरू एकपछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए । भारतीय बलरहरू सामु पाकिस्तानी ब्याटर जम्न सकेनन् ।
पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो । त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए । कप्तान बाबर आजम भने १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन् ।
१७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप २ विकेट गुमाउन पुग्यो । आइतबार वर्षाले खेल रोकिएपछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो ।