काठमाडाै । संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उनको मुन्धुम र हिन्दु संस्कृति अनुसार दाहसंस्कार गरिएको छ । नेम्वाङलाई उनका दुई छोराले दागबत्ती दिए ।
नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए ।
दाहसंस्कारका क्रममा उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिएको थियो ।
नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री दाहाल, मन्त्रीहरू, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, विभिन्न दलका शिर्ष नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुकको ठूलो उपस्थिति रहेको थियो ।
यसअघि नेम्वाङको पार्थिव शरीर शवयात्रासहित बालुवाटार हुँदै शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याइएको थियो ।
नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । नेम्वाङका श्रीमती दुई छोरा र दुई छोरी छन् ।
नेम्वाङको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।