गण्डकीमा नौ महिनापछि संसदीय समितिले पूर्णता पायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा नौ महिनापछि संसदीय समितिले पूर्णता पायो

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८०, शनिबार

    पोखरा । गण्डकी प्रदेश सभा गठन भएको ९ महिनापछि संसदीय समितिले पूर्णता पाएको छ।प्रदेश सभामा रहने ४ वटा समितिको सदस्य साउन ३० गते नै टुंगो लागेपनि दलहरूबीच सहमति नहुँदा सभापति चयन रोकिएको थियो।

    दलहरूबीच भएको सहमति अनुरूप सत्तारूढ नेपाली कांग्रेसले दुईवटा, माओवादी केन्द्रले एउटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एउटा समितिको नेतृत्व गर्ने गरी सहमति भएको जनाएको छ।दलहरूबीच भएको सहमति अनुरूप नै चारवटै समितिको सभापतिमा शनिबार उम्मेदवारी परेको छ।

    अर्का प्रतिपक्षी दल राप्रपाले भने एउटा पनि समितिको नेतृत्व पाएको छैन।सभामुख कृष्ण धितालले समितिको सभापतिका लागि शनिबार निर्वाचन कार्यतालिका राखेका थिए।सभामुख धितालले राखेको कार्यतालिका अनुसार चारवटै समिति सभापतिमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका छन्।

    नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच समितिका सभापति बाँडफाँटमा सहमति हुँदा अर्का प्रतिपक्षी दल राप्रपाले कुनै पनि समितिको नेतृत्व पाएको छैन। प्रदेश सभामा २ जना सांसद रहेको राप्रपाले कुनै पनि समिति सभापतिमा उम्मेदवारी दिएन।

    संसदीय समितिमा नेपाली कांग्रेसले अर्थ तथा विकास समिति सभापतिमा भोजराज अर्याललाई उम्मेदवार बनाएको छ ।कांग्रेस सांसद चम्पादेवी खड्काले प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा उम्मेदवारी दिएकी छिन्।

    सत्तारूढ माओवादी केन्द्रले सामाजिक विकास तथा कृषि समिति सभापतिमा सांसद फणिन्द्र देवकोटालाई उम्मेदवार बनाएको छ। नेपाल समाजवादी पार्टीका देवकोटा गत मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवार बनेका थिए।

    उनी माओवादी संसदीय दलका सदस्य छन्। दलहरूको सहमति अनुसार नै माओवादीले देवकोटालाई उक्त समितिको सभापति उम्मेदवार बनाएको हो।यस्तै, प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको सभापतिमा सुधीरकुमार पौडेललाई उम्मेदवार उठाएको छ। उक्त समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने संसदीय परम्परा छ ।