मिछुर्लङमा दसैँ पर्यटन मेला सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिछुर्लङमा दसैँ पर्यटन मेला सुरु

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८०, बुधबार

    दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्नुहुँदै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताए ।

    तेस्रो नेत्र युवा संस्थाको आयोजनामा सुरु मेला आगमी कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत सुरु भएको छ । मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिए ।   


      
      मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यू टावरबाट दृश्य अवलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।   
      

    मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । यहाँ दृश्यावलोकन केन्द्रसमेत बनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो ।   
      
    मगर समुदायको कौरा, झ्याउरे, अग्र्यानिक परिकार मिछुर्लुङको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिछुर्लुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ ।   
    –––