


पोखरा । पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका हुन् ।
पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिए । निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पुरै सहयोग रहने उनले विश्वास पनि दिलाए । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनले विश्वास समेत व्यक्त गरे । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताए ।
पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उनले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिए । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उनले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सवै खाले स्थानीय अवरोधहरूको समाधान गरिदिने बताए । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उनले प्रतिबद्धता जाहेर गरे । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्ययता बढाउने प्रमुख आचार्यले विश्वास व्यक्त गरे ।
पुल निर्माणको कार्य २०८० भाद्र २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाण्डौले ठेक्का पाएको छ । यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०/१९० मिटरका २ वटा पुलहरू निर्माण हुनेछन् । पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ (भ्याट सहित) रहेको छ ।