इजरायलले बन्दी रिहाईका लागि युद्धविराम गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    इजरायलले बन्दी रिहाईका लागि युद्धविराम गर्ने

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८०, बुधबार

    एजेन्सी । इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई पारित गरेको छ।  यो अवधिमा पहिलो चरणअन्तर्गत हमासको कब्जामा रहेका ५० जना रिहा हुनेछन्।

    इजरायलको मन्त्रिपरिषद्मा बन्दी रिहाइका लागि हमाससँगको जारी युद्ध रोक्नेबारे मतदान भएको थियो। प्रस्तावित चार दिने युद्ध विरामलाई मन्त्रिपरिषद्ले पारित गरेको हो। 

    कतारको मध्यस्थतामा अघि बढेको युद्ध विरामको प्रस्तावलाई हमासले पनि सकारात्मक भनेको छ।

    युद्ध विराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ। 

    पहिलो चरणमा ५० जना रिहा हुने छन्। नेपाली युवा विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको इजरायलले जनाएको छ।

    त्यसबापत इजरायलले पनि एक सय ५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने प्रस्तावमा उल्लेख थियो। यद्यपि, यस विषयमा इजरायल सरकारले केही बताएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने बन्धक रिहाइ पछि पनि युद्ध जारी रहने बताएका छन्। 

    बन्धकको रिहापछि युद्ध रोकिने भनेर चर्चा भइरहेको प्रति खण्डन गर्दै उनले लक्ष्य हासिल नहुन्जेल युद्ध जारी रहने जिकिर गरेका छन्।

    उनले हमासद्वारा बन्धक बनाइएकाहरुलाई फर्काउनु आफ्नो महत्वपूर्ण लक्ष्यमध्ये एक भएको उल्लेख गर्दै हमासको सफाया पनि महत्वपूर्ण अर्को लक्ष्य भएको जनाएका छन्।  फेरि इजरायलका लागि खतरा हुने कुनै पनि शक्तिलाई निमिट्यान्न नपारेसम्म गाजामा केही नछाड्ने उनको प्रतिबद्धता छ।

    इजरायल र हमासबीचको युद्ध ४७ औं दिनमा पुग्दा दुवैतर्फ करिब १५ हजार व्यक्तिको ज्यान गएको छ।  तीमध्ये इजरायली आक्रमणमा गाजा क्षेत्रमा मारिने बालबालिकाको संख्या ५ हजारभन्दा बढी पुगेको छ।