विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८०, सोमबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

    उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।

    अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

    विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैं उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानूनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि उल्लेख छ ।

    २०७६ साल असोज ९ गते उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुले संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्वन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले उनीहरु फरार भएको भनेपछि अदालतको इजलासले ३५ दिने वारेन्ट जारी गर्न गत १० मंसिरमा आदेश दिएको थियो । त्यसैअनुसार जिल्ला अदालत प्रशासनले आज सूचना निकालेको हो ।