पोखरा । तमु युवा ह्युल छोंज धिंले शिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ जसपुरमा जन्मिएका गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।
ब्रिटिश साम्राज्यवादको उपनिवेशबाट नेपाललाई जोगाउन लडेका गुरुङलाई राष्ट्रिय विभूति घोषणाका लागि राज्यलाई दबाब दिइने छोंज धिंले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
इलाममा सम्पन्न धिंको महाधिवेशनको घोषणापत्र सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा महासचिव मनराज गुरुङले राज्यले सरदार वंशु गुरुङको सम्मान गर्न नसकेको बताए ।
यस्तै पहिचानसहित स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरिएको छ । तमु युवा ह्यूल छोँज धीँले प्रशासनिक एकाईहरुको नाम पुनः तमु भाषामा राख्नपनि माग गरेको छ । त्यसबाहेक गाउँ, स्थान, नवी–खोला, ताल तलैयाहरुको नामपनि तमु भाषामै राख्न उसले माग गरेको छ ।
घोषणापत्रमा भनिएको छ,‘तमुवान क्षेत्रमा पहिलेपहिले गाउँ, स्थान, नवी–खोला, ताल तलैयाहरुको नाम तमु जातिको भाषामा थिए तर पछि खसकरणहुँदै लोप भएकाले पुनः ती गाउँ, स्थान, नवी–खोला, ताल तलैयाहरुको नाम पुनः तमु भाषामा नामाङ्करण गरी तुरुन्त लागू नगर्दासम्म दवाबमूलक संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने संकल्प गरेका छौं ।’
तमु युवा ह्यूल छोँज धीँले तमु जातिको बाहुल्य भएको स्थानिय तहमा तमु मातृ भाषाको पाठ्यक्रम निर्माण गरी अध्ययन÷अध्यापन गराउन तथा सरकारी कामकाजको भाषामा तमु भाषा लागू गर्नसमेत माग गरेको छ । अन्यथा दवाबमूलक कार्यक्रम सञ्चालन गर्ने तमु युवा ह्यूल छोँज धीँका अध्यक्ष तोरण गुरुङले बताए ।