जनकपुरधाम । मधेश आन्दोलनताका महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक मुद्दामा मधेश प्रदेशका सांसद अभिराम शर्मासहित ७ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
असई विक हत्याकै आरोपित नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । महोत्तरी १ बाट निर्वाचित सांसद महतो लामो समयदेखि फरार छन् ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु प्रदेश सांसद शर्मा, सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको छ ।
दोस्रो पटक मधेश प्रदेशसभा सदस्यमा निर्वाचित शर्मा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता पनि हुन् ।
जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । सजाय पाएका अन्य ५ जना मधेश केन्द्रित दलका नेता कार्यकर्ताहरु रहेको बुझिएको छ ।
२०७२ साल भदौ २५ मा असई विकको हत्या भएको थियो । उनको हत्या अभियोगमा २०७५ साउन २८ मा २८ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा परेका मधेश प्रदेशका पूर्वसांसद कौशल यादवसहित १९ आरोपित फरार छन् । फरारहरुको सन्दर्भमा केही आदेश जारी नभएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।
पुर्पक्षका लागि तीन आरोपित सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर थुनामा छन् । उनीहरुमध्ये कापरलाई अदालतले सफाइ दिएको छ ।