धार्मिक गन्तव्यस्थल बन्दै तनहुँको थानीमाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धार्मिक गन्तव्यस्थल बन्दै तनहुँको थानीमाई

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८०, शनिबार

    दमौली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरमा प्रसिद्ध थानीमाई मन्दिर अवस्थित छ । पृथ्वीराजमार्गको डुम्रेदेखि पुर्कोट बाइसजाँगर हुँदै थानीमाई मन्दिर पुग्न सकिन्छ ।

    सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीय स्थलका्े रुपमा विकास हुन थालेको छ । मन्दिरको धार्मिक आस्थाका कारण देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगर बताउँछन् ।

    यहाँ विशेषगरी मङ्गलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन् । थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन् । थापाले भने, “मन्दिरमा विशेषगरी कात्तिक र मङ्सिरको मङ्गलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कात्तिकमा दसैं र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो ।”

    उनका अनुसार मन्दिरमा कात्तिकको मङ्गलबार एक सय ६१ फूलको डोली भित्रिएको थियो । त्यस्तै मङ्सिर महिनाको तीन वटा मङ्गलबार मात्रै एक सय नौ फूलको डोली भित्रिएको छ । पहिलो मङ्गलबार मङ्सिर ५ गते ३६, दोस्रो मङ्गलबार मङ्सिर १२ गते २९ र तेस्रो मङ्गलबार मङ्सिर १९ गते ४४ वटा फूलको डोली भित्रिएको छ । अन्तिम मङ्गलबार औशी परेका कारण उक्त दिन फूलको डोली भित्रिएन ।

    सोही क्रममा आठ हजार सात सय भक्तजनले मन्दिरमा पूजाआजा गरेको थापाले जानकारी दिए । मन्दिरमा पहिलो मङ्गलबार तीन हजार दुई सय ४०, दोस्रो मङ्गलबार दुई हजार छ सय र तेस्रो मङ्गलबार दुई हजार आठ सय ६० भक्तजन पुगेका छन् ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।

    भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

    विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाई छ ।

    देशका विभिन्न जिल्लाबाट भक्तजन यहाँ आउनाले यसको महत्व थप उजागर भएको स्थानीय अगुवा मनोजकुमार श्रेष्ठले बताए ।

    सिसी क्यामराबाट निगरानी

    मन्दिरमा सिसी क्यामेराबाट निगरानी गर्न सुरु गरिएको छ । भानु नगरपालिका–७ बसन्तपुरमा अवस्थित थानीमाइ मन्दिर धार्मिक गन्तव्यस्थलको रुपमा विकास हुँदै गएकाले सुरक्षाका हिसाबले सिसी क्यामरा जडान गरिएको हो ।

    थानीमाइ मन्दिर संरक्षण समितिको आन्तरिक स्रोतबाट चार वटा सिसी क्यामरा जडान गरिएको थापाले बताए । उनले भने, “मन्दिरमा भक्तजनको आगमन बढ्न थालेकाले सुरक्षाका दृष्टिकोणले पनि सिसी क्यामरा आवश्यकता थियो । भीडभाडका बेला चोरीका घटना पनि हुन सक्ने भएकाले सिसी क्यामराबाट निगरानी थालेका छौ ।”