दमाैली । व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्च निर्मल मावि २०४५ व्याचले न्यानो कपडा सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न छात्रछात्रालाई मञ्चले शुक्रबार स्वीटर सहयोग गरेको हो ।
मञ्चका अध्यक्ष त्रिभुवन श्रेष्ठले एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए । त्यसक्रममा ३३ जना विद्यार्थीलाई सहयोग गरिएको थियो ।
२०४५ सालको एसएलसी समूहले यसअघि व्यासको १०८ फिट मूर्ति निर्माण गर्न आयोजित महायज्ञमा १२ हजार एक सय आठ सहयोग गरेको थियो । त्यस्तै कोरोना समयमा निःशुल्क भोजनका लागि नगद तथा स्वास्थ्य सामग्री सहयोग गरेको मञ्चले मिर्गौला पीडित राजु श्रेष्ठलाई १० हजार, मुटुरोग पीडित बलबहादुर दरैलाई ५ हजार प्रदान गरिसकेको छ ।
मञ्चले पुर्नमिलन गरी रमाउन मात्र नभई समाजको अभिन्न अङ्ग भएकाले सामाजिक क्षेत्रमा काम गरिरहेको श्रेष्ठले बताए ।