स्वास्थ्य सचेतनाका लागि दमौलीदेखि मानुङकोटसम्म पैदलयात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्य सचेतनाका लागि दमौलीदेखि मानुङकोटसम्म पैदलयात्रा

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८०, शनिबार

    दमाैली । रोटरी क्लब अफ दमौलीले वाक फर हेल्थ कार्यक्रमको आयोजना गरी आज दमौलीदेखि मानुङकोटसम्म पदैलयात्रा सम्पन्न गरेको छ । व्यास नगरपालिका–३ अनसन चौतारीबाट सुरु भएको यात्रा ६ किलोमिटर दूरी पार गरि मानुङकोटमा पुगेर टुङ्गिएको थियो ।

    रोटरी इन्टरनेशलले डिसेम्बरलाई रोग रोकथाम र उपचार महिनाको रुपमा लिइ स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्ने प्रचलन बमोजिम रोटरी दमौलीले स्वास्थ्य तथा वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।

    स्वस्थ्य जीवनशैलीका लागि दैनिक कम्तीमा ३० मिनेटको पैदलयात्रा अति आवश्यक छ भन्ने सन्देश दिन पनि पैदलयात्रा गरिएको उनले बताए। उनले भने, “रोटरीयनहरुमा दैनिक हिँड्ने बानीको विकास गराएर रोग लाग्नबाट बचोस् भन्ने दीर्घकालीन उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।”

    सोही अवसरमा रोटरी दमौलीले मानुङकोटमा सरसफाइ तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विभिन्न सूचना तथा सन्देशमूलक प्ले–कार्डहरु पनि टाँसेको छ । मानुङकोट पछिल्लो समय सुन्दर पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहँदा त्यहाँ प्राकृतिक वातावरण प्रदुषित गर्नुहँुदैन भन्ने सन्देश दिन आफ्नो फोहोर आफैं व्यवस्थापन गरौं, तिम्रो र मेरा लागि सुन्दर ठाउँ बनाऔँ लगायतका सूचना लिखित कार्डहरु राखिएको श्रेष्ठले जानकारी दिए।

    सोही अवसरमा व्यास नगरपालिकाका प्रमुख एवम् रोटरी दमौलीका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेले पछिल्लो समय जीवनशैलीमा आएको परिवर्तनले धेरै प्रकारका रोग बढ्दै गएको सन्दर्भ जोड्दै दैनिक हिँड्दा मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ हुन मद्दत पुग्ने बताए।

    संविधानसभा सदस्य एवम् रोटरी दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले स्वास्थ्य सचेतनासँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गरेको भन्दै कार्यक्रमप्रति आभार व्यक्त गर्नुकासाथै स्वस्थ जीवनशैली अवलम्बन गर्न आग्रह गरे।