इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०८०, आईतवार

    भरतपुर । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका सुन्तला चितवनको इच्छाकामना गाउँपालिकामा उत्पादन हुन्छ । यसबाहेक यहाँ गोरखा र तनहुँका विभिन्न क्षेत्रबाट सुन्तला ल्याएर बिक्री गरिन्छ ।

    इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन । उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ । वडा नं ३ को माथिल्लो डुँडेका किसान कुसुम गुरुङ आफ्नो बगैँचामा सानो दाना भए पनि सुन्तला निकै रसिलो र गुलियो रहेको बताउँछन् । उनी भन्छन्, “सुन्तलामा कुनैपनि औषधि प्रयोग नगरिएको र प्राङ्गारिक मल मात्रै प्रयोग गर्ने गरेका छौँ ।”

    गतवर्ष झण्डै रु तीन लाख बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बगैँचामा सुन्तलाको उत्पादन राम्रो छ । बोटबाटै किन्नका लागि व्यापारी आइरहेकाले राम्रो मूल्य पाएपछि बिक्री गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो । तल्लो डुँडेका किसान वीरबहादुर गुरुङ रातो माटो भएको ठाउँका सुन्तलाको स्वाद मिठो हुने गरेको बताउँछन् । उना रसिलो सुन्तला भएकै कारण किन्न आउने व्यापारीको लर्को लाग्ने गरेको बताउँछिन् । “यहाँ उत्पादन भएको सुन्तला बिक्रीका लागि कुनै चिन्ता छैन,उहाँ भन्नुुहुन्छ, “बोटबाटै सुन्तला ठेक्कामा दिन्छौँ ।” गत वर्ष रु पाँच लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएका गुरुङको बारीमा चार सय पचास सुन्तलाका बोट छन् ।

    गाउँपालिकाकी उपप्रमुख माया सिलवाल इच्छाकामनामा उत्पादन भएको सुन्तला सानो खालको चिल्लो दाना भएको बताउँछिन् । यहॉ उत्पादन भएको सुन्तलाको रङ्ग पनि राम्रो भएको र अधिकांश सुन्तला यहाँकै बिक्री हुन्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल यहाँको सुन्तलालाई देशव्यापी रुपमा चिनाउने गरी प्रवद्र्धन गर्न थालिएकाले गाउँपालिकाले नर्सरी स्थापना गर्ने तयारी गरेको उल्लेख गरे ।

    “सुन्तला बिक्री भएन भने गाउँपालिकाले सहजीकरण गरे बिक्री गरिदिन्छ, अधिकृत भुसाल भन्छन् फिस्लिङ तरकारी केन्द्रमा कोल्डस्टोर समेत सञ्चालनमा आइसकेको छ ।” गाउँपालिकाको झण्डै ८० हजार हेक्टर जमिनमा सुन्तलाखेती गरिएको छ । त्यसमध्ये ६० हेक्टर जमिनमा सुन्ताला उत्पादन भएको छ । अहिले किसानको बारीबाट रु ७५ देखि ९० सम्ममा सुन्तला बिक्री हुने गरेको छ ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठी मङ्सिरको पहिलो सातादेखि यस क्षेत्रको सुन्तला बजारमा पठाउन थालिएको बताउनुहुन्छ । गाउँपालिका–३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला मुग्लिन, केबुलकार, कुरिनटार, र फिस्लिङमा बिक्रीका लागि राख्ने गरिएको छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेलमा नारायणगढ, काठमाडाँैं, पोखरालगायत सहरमा सुन्तला पठाउने गरिएको छ ।