मगरले राज्य गरेकाे गलेखामकोटकाे प्रबर्धन गरिदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मगरले राज्य गरेकाे गलेखामकोटकाे प्रबर्धन गरिदै

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०८०, बिहीबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ पर्यटकीय स्थल गलेखामकोट । कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

    व्यास नगरपालिका–६ मा अवस्थित गलेखामकोट सदरमुकामबाट १५ किलोमिटर दूरीमा अवस्थित छ । कुनै बेला मगर राजाले समेत राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी यसको प्रबद्र्धनका लागि जुटेका छन् ।

    गलेखामकोटमा मगर राजाले शासन गरेको र अन्तिम राजा चक्रधर राना रहेको गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठले जानकारी दिए । उनले भने “धार्मिक तथा पर्यटकीय हिसाबले यस ठाउँले प्रचुर सम्भावना बोकेपनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको महशुस भएको छ । यस ठाउँको विकास र प्रचारप्रसारका लागि स्थानीयवासी कस्सिएका छन् ।”

    श्रेष्ठका अनुसार मगर राजाले तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको किंवदन्ती छ । पछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ । यो क्षेत्र पर्यटकीय हिसाबले अन्त्यन्त आकर्षक र तनहुँको तेस्रो अग्लो पहाडको रुपमा परिचित रहेको श्रेष्ठको भनाइ छ ।

    यहाँबा सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्यहरु देख्न सकिने स्थानीयवासी मुनिराज गुरुङले बताए। प्रचुर सम्भावना बोकेर पनि यस ठाउँको विकास हुन नसकेको उनकाे भनाइ छ ।

    उनले भने “यहाँबाट देखिने मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ, तर यस ठाउँको पर्याप्त प्रचारप्रसार हुन सकेन । हामी अबको प्रबद्र्धनमा जुटेका छौ ।” उनका अनुसार यस ठाउँमा शनिबार र बिदाका दिन फ्याट्टफुट्ट आन्तरिक पर्यटकको आगमन हुन थालेको छ ।

    गलेखामकोटमा नेवार समूदायको बाहुल्यता छ । गलेखामकोटमा भ्युटावर समेत बनेको छ । यहाँ विसं २०७६ सालमा रु १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण भएको थियो । तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतको हिमश्रृङ्खला देख्न सकिन्छ ।

    समुन्द्र सतहबाट दुई हजार दुई सय सात मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंको बेला विशेष पूजाआजा हुने गरेको छ । बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी मनिता गुरुङले जानकारी दिइन्। मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रुपमा काम गर्दै आएका छन् ।

    यस ठाउँमा राजाको पालामा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षित रुपमा राखिएको छ । गलेखामकोटको प्रबद्र्धन र विकासका लागि नगरपालिकाले पहल थालेको वडाध्यक्ष जीवन गुरुङले बताए ।