फागुन १ लाई कसरी सम्झिने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    फागुन १ लाई कसरी सम्झिने ?

    विद्या ढकाल

    १ फाल्गुन २०८०, मंगलवार

    आज फागुन १ गते । वि. सं. २०५२ मा नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको दिन । यो सन्दर्भलाई लिएर नेपाली समाजमा फरक फरक बुझाई अनि विश्लेषण भएको पाइन्छ । माओवादी सम्बद्ध वा निकट रहेकाहरू यस विषयमा थोरै पनि आलोचना सुन्न तयार छैनन् भने अर्को पक्ष यसलाई नेपाली समाजको दुर्भाग्यको रुपमा व्याख्या, विश्लेषण गरिरहेछ । वास्तवमा यी दुबै पक्ष एकांकी सोच वा आग्रहबाट ग्रसित रहेको देखिन्छ ।

    माओवादी पक्षबाट हिजोको दश बर्षे युद्धको क्रममा त्यसमा प्रत्यक्ष सम्लग्न नरहेका वुद्धिजीवि, सर्वसाधारण वा समाजको विभिन्न तप्काका नागरिकहरू माथि भएका ज्यादती (अर्को पक्षबाट पनि यही प्रकृतिको कमजोरी भएको थियो) अनि पुरातात्त्विक साथै महत्वपूर्ण भौतिक संरचनाहरू नष्ट गरिएका विषय गम्भीर गल्ती थिए । मेरो विनम्र अनुरोध छ, यो विषयमा माओवादी इमानदार र खुला दिलले आत्मालोचित हुनु आवश्यक छ । अझ हिजोका आफ्ना एजेन्डा अनि आदर्शका कुराका आधारमा आजको आफ्नो सोच अनि जीवनशैलीबारे पनि घोत्लिनु जरुरी देखिन्छ ।

    अर्को पक्ष यस युद्धका सकारात्मक उपलब्धिहरूलाई वेवास्ता गर्दै यसको खरो आलोचना मात्र गरिरहेछ । यस परिघटनाले परिवर्तनका लागि आन्दोलनका रुपमा नेपाली समाजलाई झक्झक्याएको सन्दर्भ होस् वा महिला/उत्पीडित अनि सीमान्तकृत समुदायमा ल्याएको एक तहको जागरण साथै लोकतान्त्रिक गणतन्त्रका लागि यसले तयार पारेको आधारभूमि देख्न वा बुझ्न नसक्नु पनि गम्भीर वैचारिक कमजोरी हो ।