प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागी हुने खेलाडीलाई विदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागी हुने खेलाडीलाई विदाई

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०८०, बिहीबार

    दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँले शुक्रबारदेखि नवलपुरमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ । समितिले आज दमौलीमा कार्यक्रमको आयोजना गरी खेलाडी तथा अफिसियल टोलीलाई विदाई गरेको हो ।

    त्यसअघि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खेलकुद विकास समितिको झण्डा समितिका अध्यक्ष अनिल पाण्डेलाई हस्तान्तरण गरेका थिए । खेलाडीलाई शुभकामना दिँदै प्रमुख जिल्ला अधिकारी गौतमले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तनहुँको नाम राख्न आग्रह गरे।

    समितिका अध्यक्ष पाण्डेका अनुसार प्रदेशस्तरीय रनिङशिल्ड प्रतियोगितामा ९४ खेलाडी तथा १४ अफिसियलले सहभागिता जनाउँदैछन् । गत वर्ष पनि तनहुँले राम्रो नतिजा प्राप्त गरेको र यसवर्ष पनि उत्कृष्ट नतिजा हासिल हुनेमा पाण्डेले विश्वास व्यक्त गरे।

    प्रतियोगितामा भलिबल, एथलेक्टिस, कराँते, कबड्डी, तेक्वान्दो र उसु गरी छ विधामा तनहुँले सहभागिता जनाउनेछ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि नवलपुरको विभिन्न पालिकामा खेल सञ्चालन हुँदैछ ।

    यसअघि जिल्लाका दशवटै स्थानीय तहमा पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको थियो । दशवटै पालिकाबाट छनोट भएर जिल्लास्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेशस्तरका लागि छनोट गरिएको पाण्डेले जानकारी दिए।