आँबुखैरेनी उपाध्यक्षद्वारा सेवा सुविधाबाट विद्यार्थीलाई पोशाक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी उपाध्यक्षद्वारा सेवा सुविधाबाट विद्यार्थीलाई पोशाक

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८०, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले आफूले प्राप्त गर्ने सेवासुविधाबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेकी छन् । उपाध्यक्ष अर्यालले आँबुखैरेनी गाउँपालिका–२ स्थित अकला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेकी हुन् ।

    जनप्रतिनिधिको रुपमा आफूले प्राप्त गरेको तलब र भत्ता बापतको रकमबाट अर्यालले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ७५ जना विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराएकी हुन् ।

    सामुदायिक विद्यालय अनुगमनका क्रममा विद्यार्थीको अनुशासन र पढाइप्रतिको लगनशीलता देखेर आफूले सहयोग गरेको उपाध्यक्ष अर्यालले बताइन् । उनले भनिन्, “विद्यालयमा नियमित अनुगमनमा जाँदा सामुदायिक विद्यालयप्रतिको धारणा समुदायमा अत्यन्तै सकारात्मक हुँदै गएको र विद्यार्थी र अभिभावकसँगको भेटघाटले मलाई सधैं सकारात्मक उर्जा दिन्छ ।”

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई यस्ता किसिमका सामाजिक कार्यले समाजसेवाको धारणा विकास गर्न सहयोग पुग्ने बताए।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर मगरले जनप्रतिनिधिको सहयोगले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने धारणा राखे।