नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बिहीबार

    दमाैली । नयाँ वर्ष २०८१ का अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३०, वैशाख १ र २ गते सडक खाना महोत्सवको आयोजना गरिएको हो ।

    नयाँ वर्षलाई जिल्लाभित्रै बसेर स्वागत गर्न र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले खबरपुञ्जलाई जानकारी दिए ।

    उनले भने, “बन्दीपुर तनहँुकै प्रमुख पर्यटकीयस्थल हो, नयाँ वर्ष मनाउन बाहिर जिल्ला जान नपरोस् भन्ने हेतुले सडक खाना महोत्सव आयोजना गरिएको हो, त्यतिबेला यहाँ तनहुँका मात्र नभई देशका विभिन्न जिल्लाबाट तथा विदेशी पर्यटकको समेत घुइँचो हुनेमा ढुक्क छौँ ।”

    सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राह्मणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिने उनले बताए ।

    आन्तरिक पर्यटकका अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी हुन्छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् । यस वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ ।

    बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।