एससीसी प्रियिमर कप क्रिकेटमा नेपालको विजयी सुरुआत, मलेसियालाई पाँच विकेटले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एससीसी प्रियिमर कप क्रिकेटमा नेपालको विजयी सुरुआत, मलेसियालाई पाँच विकेटले हरायो

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८०, शुक्रबार

    काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो ।

    नेपालको जितमा ओपनर आसिफ शेखले ३२ रनको योगदान गरे । उनले ३५ बलमा चार चौका प्रहार गरे । कप्तान रोहित पौडेलले पनि २८ रन बनाए । उनले २४ बलमा एक छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेलले २४ रन जोडे । उनले २४ बलमा तीन चौका प्रहार गरे ।

    दीपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा २० रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका दीपेन्द्रले केवल ११ बलमा एक छक्का र दुई चौका प्रहार गरे । गुलसन झाले अविजित १९ रन बनाए । उनले केवल सात बलमा दुई छक्का र एक चौका प्रहार गरे ।

    सन्दीप जोरा पनि केवल नौ बलमा अविजित १२ रनको योगदान गरे । कुशल मल्लले पनि सात रन बनाए । नेपालले अतिरिक्त रुपमा केवल दुई रन पाएको थियो । मलेसियाका बलर विरेनदीप सिंहले तीन तथा पवनदीप सिंह र मुहम्मद वाफिकले एक–एक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको मलेसियाका लागि भने ओपनर ब्याट्सम्यान वीरेनदीप सिंहले अविजित ७२ रनको योगदान गरेका थिए । उनले केवल ५७ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान श्रविन मुनियान्डीले पनि टोलीको खातामा ४१ रन थपे ।

    श्रविनले केवल ३३ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । ओपनर मुहम्मद अमिरले १६ र नजमस सकिबले अविजित तीन रन बनाए । नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले दुई र अविनाष बोहराले एक विकेट लिएका थिए ।

    नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल २४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले २४ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर पवनदीप सिंहले एलबीडब्लूको धरापमा पारेका थिए । ७.५ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४९ रन बनाएको थियो ।

    नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर वीरेनदीप सिंहले विकेटकिपर नजमस सकिबद्वारा स्टम्पिङ गराएका थिए । ११.१ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।  

    नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल ६ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई मलेसियाका बलर मुहम्मद वाफिकले परिवर्तित खेलाडी जुबैदीद्वारा क्याच गराएका थिए । १३.२ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ८३ रन बनाएको थियो ।

    नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित २८ रन बनाउँदै आउट भएका थिए । रोहितले २४ बलमा एक छक्का पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीप सिंहले मुनियान्डीद्वारा क्याच गराएका थिए । १६.१ ओभरमा रोहित आउट हुँदा नेपालले १०७ रन बनाएको थियो ।

    त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्र २० रन बनाउँदै आउट भएका थिए । उनले केवल ११ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई मलेसियाका बलर विरेनदीपले मुनियान्डीद्वारा क्याच गराएका थिए । १७औँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ११४ रन बनाएको थियो ।

    त्यसअघि पहिले ब्याटिङ गरेको मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । दीपेन्द्रले मलेसियाका ओपनर मुहम्मद अमिरलाई १६ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । दीपेन्द्रले आफ्नो बलिङमा अमिरको क्याच आफैले लिएका थिए । पेभेलियन फर्किनुअघि अमिरले १८ बलमा तीन चौका पनि हिर्काएका थिए । ५.१ ओभरमा अमिर आउट हुँदा मलेसियाले ३५ रन बनाएको थियो ।

    मलेसियाको दोस्रो विकेट अविनाष बोहराले लिएका थिए । उनले मेलियाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रविन मुनियान्डीलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि श्रविनले ४१ रन बनाएका थिए । उनले केवल ३३ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए । १६.१ ओभरमा श्रविन आउट हुँदा मलेसियाले एक सय १७ रन बनाइसकेको थियो ।

    मलेसियाको तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले मलेसियाका चौथो नम्बरका ब्याट्सम्यान सइद अजिजलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि अजिजले सात बलमा एक चौकाको मद्दतले ६ रन बनाएका थिए । दीपेन्द्रले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट थियो । १७.५ ओभरमा अजिज आउट हुँदा मलेसियाले एक सय २६ रन बनाएको थियो । मलेसियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

    वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।

    नेपाली टोली भारतमा स्थानीय क्लबहरूसँग त्रिकोणात्मक शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । शृङ्खलाको उपाधि पनि नेपालले नै जितेको थियो ।(रातोपाटीबाट)