स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न राज्यले ध्यान दिनुपर्छ : राष्ट्रपति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न राज्यले ध्यान दिनुपर्छ : राष्ट्रपति

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८१, मंगलवार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् ।

    राष्ट्रपति पौडेलले दशरथ रंगशालामा आयोजित १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मङ्गलबार उदघाटन गर्दै गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरे । देशको खेलकुदको एउटा मुख्य आधारकारुपमा यो प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उनको भनाइ थियो ।

    ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्, कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ’, राष्ट्रपति पौडेलले भने,“ अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने आधार हुन्, साथै विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् भन्ने मलाई लाग्छ ।”

    उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, सृजनात्मक सिकाई र गरिखाने पुस्तकविहीन शिक्षाको पनि जरुरत पर्दछ भने । “मेरो विचारमा खेलकुद र यस्ता प्रतियोगितात्मक क्रियाकलाप यसैतर्फका उन्नत सिकाइ विधि हुन्”, राष्ट्रपति पौडेलले भने ।

    विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार हो भन्दै उनले विद्यार्थीहरू खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुनेमात्र होइन यसले उनीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकको प्रगतिमा पनि सहयोग पु¥याउन मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरे

    राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारावालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औल्याए । “विशेषतः खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ, खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ”, उनले भने ।

    उनले खेलकुदमै लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सुजना गर्नुनै आजको आवश्यकता हो भने । साथै देश विदेशमा हुने प्रतियोगिता र प्रतिस्पर्धाले हाम्रो खेलको स्तरमा विकास गर्ने भएकाले यसतर्फ पनि खेलसम्बद्ध संस्थाहरूले विशेष चासो दिने उहाँले विश्वास व्यक्त गरे ।

    खेलमा सहभागी विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्छन् भन्दै उनले यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भने । “खेलकुदले समग्र शिक्षा योजनामा विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउँन अभिप्रेरित गर्दछ, देशको समग्र विकास, समृद्धि र प्रगतिमा पनि विद्यार्थीको अग्रणी र महत्वपूर्ण भूमिका हुन्छ”, राष्ट्रपति पौडेलले भने ।

    स्कूल कलेजमा हुने खेल प्रतियोगिता विद्यार्थीबीचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबीच अद्भूत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँने उनले विश्वास व्यक्त गरे । साथै उनले यस्ता प्रतियोगिता शिक्षणसिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने धारणा व्यक्त गरे ।