पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको र चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
चुमानले अर्थ मन्त्रालयको जिम्मा पाएसँगै तनहुँबाट उनी तेस्रो अर्थमन्त्री बनेका छन् । यसअघि २०७४ को चुनावपछि एमालेका नेता किरण गुरुङ अर्थमन्त्री बनेका थिए । २०७९ को चुनावपछि कांग्रेसका जितप्रकाश आलेले उक्त मन्त्रालय सम्हालेका थिए।