दमाैली । नेकपा (एमाले) तनहुँको दशौं जिल्ला अधिवेशन वैशाख २८ र २९ गते हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
अधिवेशनका लागि दशवटै पालिकाका ८५ वटै वडाबाट प्रतिनिधि छनोट गरिएको छ । अधिवेशनमा करिब छ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
अधिवेशनले पार्टीको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए ।
अध्यक्षका लागि हालका उपाध्यक्ष हरिराज कंडेल बलियो उम्मेदवार हुन् । पार्टीको संस्थापन पक्षको समर्थन कंडेललाई छ । कंडेललाई पार्टीका पूर्व अध्यक्ष केदार सिग्देल, हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतको समर्थन छ ।
पार्टी नेतृत्व सर्वसम्मत बनाउने प्रयास भएपनि चुनाव हुने सम्भावना उत्तिकै छ । अध्यक्षमा गण्डकी प्रदेश कमिटीका निवर्तमान सदस्य विष्णुभक्त सिग्देल पनि आकाङ्क्षी हुन् । चुनाव भएको खण्डमा प्यानल बन्ने निश्चित छ ।