अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    काठमाडौ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए ।

    त्यस्तै, अनिल साहले १६ बलमा २४ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । आसिफ शेखले २२ बलमा २२ रन जोडे । 

    कुशल भुर्तेलले १६ बलमा १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    क्यानडाका लागि डिलन हेलिगरले घातक बलिङ गर्दै ४ विकेट लिए । साद बिन जाफर र जेरेमी गोर्डनले २–२ विकेट हात पारे । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।

    यसअघि डालासको ग्रान्ड प्रेरी रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

    क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ५२ रन बनाए । यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे ।

    रवीन्द्रपाल सिंहले खेलको अन्त्यतिर विस्फोट ब्याटिङ गर्दै ४१ रन बनाए । उनले मात्र १७ बलमा १ चौका र ४ छक्का हिर्काए । 

    ओपनर नवनित धालिवालले २७ बलमा ३२ रनको योगदान दिए । उनले ४ चौका हिर्काए । डिलन हेलिगर र परगत सिंहले १३–१३ रन जोडे ।

    नेपालका लागि अविनाश बोहराले २ विकेट लिए । त्यस्तै, करन केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले १–१ विकेट हात पारे ।