काठमाडौ । मधेश प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ।
मधेसमा एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका छन्।
जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन्।
मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए।
यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो।