सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई थान डायलासिस उपकरण प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई थान डायलासिस उपकरण प्रदान

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८१, आईतवार

    दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई सूर्य नेपाल प्रालिले दुई थान उपकरण हस्तान्तरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा रहेको प्रालिले अस्पतालको मिर्गौला उपचार केन्द्रलाई दुई थान डायलासिस उपकरण सहयोग गरेको हो ।

    कम्पनीले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत केन्द्रलाई डायलासिस उपकरण सहयोग गरेको कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दुवाडीले जानकारी दिए । उक्त उपकरणको मूल्य करिब रु २८ लाख रहेको उनको भनाइ छ । मिर्गौलाका बिरामी बढिरहेको र मिर्गौला उपचार केन्द्रले सहयोगको आग्रह गरेपछि कम्पनीले उक्त सहयोग गरेको दुवाडीले बताए ।

    कम्पनीले तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेको उपस्थितिमा शनिबार उक्त मेसिन हस्तान्तरण गरेको छ । सोक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति वाग्लेले मिर्गौला पीडितले सहज रुपमा डायलासिस सेवा पाउनुपर्ने बताए ।

    उपचार केन्द्र अब डायलासिस उपकरण दश वटा पुगेको छ । केन्द्र इन्चार्ज शैलेन्द्र पण्डितले हाल ५६ जना बिरामीले नियमित डायलासिस सेवा लिइरहेको जानकारी दिए । उनले भने, “उपकरण कम हुँदा डायलासिस गराउने बिरामीले पालो पर्खिनुपर्ने अवस्था थियो । अहिले सबैले सेवा पाइरहेका छन् ।”

    विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस केन्द्र सञ्चालनमा आएको थियो । उक्त केन्द्र विसं २०८० कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिएको थियो ।