तनहुँमा छ महिनाको अवधिमा ३७ मानवअधिकार उल्लङ्घनका घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा छ महिनाको अवधिमा ३७ मानवअधिकार उल्लङ्घनका घटना

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८१, बुधबार

    दमाैली । तनहुँमा पछिल्लो ६ महिनामा ३७ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । उक्त घटनामा ३५ महिला र तीन पुरुष सहित ३८ जना पीडित भएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार दमौलीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहुँमा छ महिनाको अवधिमा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको बारेमा सार्वजनिक गरेका हुन् ।

    उहाँका अनुसार यस अवधिमा तनहुँमा घरेलु हिंसाका १९, बलात्कार र बलात्कार प्रयासका दश, हत्याका तीन, कुृटपिटका दुई, मानव बेचविखनका एक, बहुविवाहको एक र बालविवाहको एक वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका थिए ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकाले राज्य पक्ष यस विषयमा अलि बढि संवेदनशिल बन्नुपर्ने बताए। राज्य मानवअधिकारको संरक्षक भएको हुँदा राज्यका निकायले कर्तव्य पालनाका क्रममा नागरिकको मानवअधिकारको पनि सम्मान गर्नुपर्ने उनकाे भनाइ थियाे ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अपिलराज बोहोराले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशीलताको नीति लिएको बताए।

    नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्वनाथ बास्तोलाले संविधानप्रदत्त अधिकार कार्यान्वयन नहुनु पनि मानवअधिकार हनन हुने हुँदा त्यसतर्फ पनि वर्ष पुस्तकका उल्लेख गरिनुपर्ने बताए ।

    नेपाल बार एसोसियसनका अध्यक्ष डम्बरदेव हड्खलेले कैदी बन्दीको अधिकारको बारेमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताए। नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानवअधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदन तयार गरेर सञ्चारकर्मीलाई धेरै सहयोग गरेको बताए।