इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८१, शुक्रबार

    काठमाडौं ।साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हाे।

    शुक्रबार बिहान भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले टाइब्रेकरमा इक्वेडरलाई ४-२ गोलले हरायो।

    निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो।

    लियोनल मेस्सी पहिलो पेनाल्टीमा चुकेपनि त्यसपछि अर्जेन्टिनाले लगातार चार प्रहारमा गोल गरेको थियो। इक्वेडरले सुरुका दुई प्रहारमा गोल गर्न सकेको थिएन।

    टाइब्रेकरमा अर्जेन्टिनाका एलक्सिस म्याक एलिस्टर, गोन्जालो मन्टियल, निकोलस ओटामेन्डी र जुलियान अल्भारेजले गोल गरे। मेस्सीको प्रहार क्रस बारमा लागेको थियो।

    यता अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। त्यसपछिका दुई प्रहारमा गोल गरेपनि अर्जेन्टिनाले पाचौँ प्रहारमा गोल गरेकाले इक्वेडरले आफ्नो अन्तिम पेनाल्टी प्रहार गरिरहन परेन।

    त्यसअघि खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो। ३५ औँ मिनेटमा लौतारो मार्टिनेजले गोल गरेका थिए। उनले लगातार चौथो खेलमा गोल गरेका हुन्।

    ६२ औँ मिनेटमा इक्वेडरले पेनाल्टी सदुपयोग गर्न सकेन। तर इन्जुरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिगुएजले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए।