युरो २०२४ : सेमिफाइनल समीकरण पूरा, इंग्ल्यान्ड नेदरल्यान्ड्सविरुद्ध भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    युरो २०२४ : सेमिफाइनल समीकरण पूरा, इंग्ल्यान्ड नेदरल्यान्ड्सविरुद्ध भिड्ने

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८१, आईतवार

    काठमाडौ । युरो २०२४ मा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्ने भएका छन् । यसअघि पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच भेट हुने निश्चित भइसकेको थियो ।

    डुसेलडर्फमा भएको अन्तिम आठको खेलमा इंग्ल्यान्डले स्विजरल्यान्डलाई टाइब्रेकरमा ५–३ ले हराएको हो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि पेनाल्टी सुटआउटको आवश्यकता परेको हो ।

    त्यसमा स्विजरल्यान्डका लागि म्यानुएल अकानजी गोल गर्न चुके । इंग्ल्यान्डका तर्फबाट पाँचै प्रहार गोलमा परिणत भएको थियो । ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले इंग्ल्यान्डका लागि निर्णायक प्रहारमा गोल गरे ।

    खेलको ७५ औं मिनेटमा ब्रेल इम्बोलोको गोलले स्विटजरल्यान्डले अग्रता लिएको थियो । तर इंग्ल्यान्डका तर्फबाट बुकाया साकाले ८० औं मिनेटमा बराबरी गोल फर्काए ।

    प्रतियोगिताको अन्तिम आठको अर्को खेलमा नेदरल्यान्ड्सले टर्कीलाई २–१ ले हरायो । डच टिम एक गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो । बर्लिनमा भएको खेलमा मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक रह्यो ।

    यसअघि टर्कीले नै समेट अकायडिनको गोलले ३५ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको ७० औं मिनेटमा स्टेफान डे भर्जिलले बराबरी गोल गरे ।