नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगे

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    चितवन । नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।

    सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । सो बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केको र उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए ।

    बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको भन्ने पनि उनीहरूले बताएको डीएसपी रिजालले जानकारी दिए । अर्को बस पनि पुरिएको भन्ने कुरा आए पनि केही कुरा नखुलेको उनको भनाइ छ ।

    त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटबलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

    उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए । (इकान्तिपुरबाट)