पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    पोखरा। किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

    पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे । श्रेष्ठले गएको मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । 

    गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथामा पाइला राखेकी हुन् ।यस पटकको बसन्त याममा सगरमाथा आरोहणमा विश्व किर्तिमान राख्न सफल भएकी श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनका अध्यक्ष सविन भट्टले एक लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए ।

    पत्रकारिता क्षेत्रबाट मिलेको सम्मानले हौसला मिलेको पूर्णिमाले बताइन् । ‘पत्रकार भएपनि यसरी पत्रकारिता क्षेत्रबाट नगदसहित सम्मान पाएको थिइनँ’, उनले भनिन् ।  गोरखाको गाउँमा जन्मिएर सगरमाथाको चुचुरोमा पुग्दासम्म अनुभूति पब्लिककर्मीसँग साटिन् । उनले हरेक क्षेत्रमा काम गर्दा कामलाई भारी सम्झन नहुने सुझाव दिइन् ।

    पूर्णिमाकोे अदम्य साहसलाई बढवा दिन सम्मान गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । ‘हामीले गरेको सम्मान अदम्य साहस भएको पत्रकारलाई गरेको सम्मान हो । धेरैै जनाकोे प्रेरणाको स्रोत भएकी पर्वतारोहीलाई सम्मान हो’, क्षेत्रीले भने ।

    हिमाल आरोहणमा नयाँ पुस्ताको प्रेरणाको स्रोत बन्न उनले शुभकामना व्यक्त गरे । श्रेष्ठ आरोहीसँगै फोटो पत्रकारसमेत हुन् । उनले ७ वर्ष अघि पर्वतारोहण सुरु गरेकी हुन् । सुरुवातमा मनास्लु हिमाल चढेकी उनले आठ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल आरोहण गरेकी छन् ।