काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८१, शनिबार

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

    घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्‍यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

    अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्‍याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।

    दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्‍यो ।  खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।

    तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो ।

    चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।

    नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो ।

    निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।

    नेपाल १२-१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो । टाइम आउटलगत्तै अंक जोडेको थियो । १२-१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो । तर भारतले पुन अंक जोड्दा खेल १३-१४ को अवस्थामा पुगेको थियो । नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइमआउट लियो ।

    यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।

    काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । (अनलाइन खबरबाट)