दमौली अस्पताललाई पचास शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया थाल्नेछु : मन्त्री पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताललाई पचास शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया थाल्नेछु : मन्त्री पौडेल

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८१, मंगलवार

    दमाैली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई पचास शय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

    दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले सहितको टोलीसँग साेमबार भेट गर्दै मन्त्री पौडेलले अस्पतालको स्तरोन्नतिका लागि पहल थाल्ने बताएका हुन् ।

    गत साता अस्पतालको निरीक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषदमा प्रस्ताव लगेर जग्गा दिलाउने बताए। उनले भने, “दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु । प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ ।”

    मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर पचास शय्यामा पु¥याउने काममा सहयोग गर्न अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले आग्रह गरेका छन् ।

    दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडीमात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडी बढाउन ध्यानाकर्षण गराइसकेको सो अवसरमा मन्त्री पौडेललाई वाग्लेले जानकारी गराएका थिए । वाग्लेले भने, “अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ । यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।”

    पन्ध्र शय्या क्षमताको स्वीकृत भएपनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । अस्पतालसँग हाल पन्ध्र रोपनी जग्गा छ । तर कृषि ज्ञान केन्द्रको दुई रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ ।

    मन्त्रिपरिषदबाट अस्पताललाई जग्गा प्राप्तिको निर्णय गराउन पहल गर्ने बताएका मन्त्री पौडेलले जनशक्ति र पूर्वाधारका लागि यसै वर्ष काम थाल्ने बताए।

    विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।