देशभर वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८१, आईतवार

    काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ ।

    वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ-मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तीब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा चितवनको कल्याणपुरमा सबैभन्दा धेरै १५३ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी नारायणी फिल्ड अफिसमा १२३, शक्तिखोरमा १०७ र देवघाटमा ९३ मिलिमिटर वर्षा मापन भएको छ ।

    भारी वर्षाका कारण माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गर्दै नारायणगढ-मुग्लिङ सडकखण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।