दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ मा आज बिहान गएको पहिरा हटाएपछि दमौली–डुम्रे खण्ड सुचारु भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण बिहान ४ बजे गएको पहिरा पौने चार घण्टामा हटाएपछि बिहान ७ः४५ बजेदेखि उक्त खण्ड सुचारु भएको हो ।
निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को सहयोगमा पहिरा हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीप हुमागाइले जानकारी दिए ।
पहिराले राजमार्ग सुचारु भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँ–ठाउँमा भित्ता खन्ने काम भएकाले यो खण्ड पहिराको जोखिममा छ ।