बन्दीपुर तीज सप्ताहन्न उत्सव सकियो : प्रथम हुँदै एकता मगर समाजले पायो एक लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर तीज सप्ताहन्न उत्सव सकियो : प्रथम हुँदै एकता मगर समाजले पायो एक लाख

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८१, शनिबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा आज सम्पन्न तीज सप्ताहन्न उत्सवमा म्याग्देको एकता मगर समाज प्रथम भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आयोजनामा भदौ १५ गतेदेखि सुरु भइ शनिबार सकिएको तीज गीत प्रतियोगितामा एकता मगर समाज प्रथम भएको हो । प्रथम भएको एकता मगर समाजले नगद रु एक लाख एक हजार प्राप्त गरेको छ ।

    प्रतियोगितामा बागलुङ कालिका भजनकिर्तन समूह द्वितीय भएको छ । समूहले नगद रु ७५ हजार प्राप्त गरेको छ ।

    प्रतियोगितामा भानु हरियाली प्राकृतिक कृषक समूह तृतीय भएको छ । उक्त समूहले नगद रु ५० हजार प्राप्त गरेको छ ।

    बन्दीपुर गाउँपालिकास्थित केराबारी आमा समूह सान्त्वना भएको छ । केराबारी आमा समूहले नगद रु २५ हजार प्राप्त गरेको छ ।

    प्रतियोगितामा ५० समूहको सहभागिता रहेको थियो । तीजको अवसरमा एक सातासम्म चलेको उत्सव जिल्लामै सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगिता हो ।

    उत्कृष्ट नाचतर्फ क्षेत्री समाज सांस्कृतिक समूह, दमौली र उत्कृष्ट भेषभुषातर्फ नगर स्तरीय महिला सन्जाल, पालुङटार पुरस्कृत भएको छ ।

    साथै यी बाहेकका उत्कृष्ट १० समूहले पनि पुरस्कार पाएका छन । कार्यक्रममा १६ समूह पुरस्कृत भएका छन् । कार्यक्रममा तीन लाख ३६ हजार पुरस्कार वितरण भएको छ ।

    कार्यक्रममा डा. तुलसीराम खनालले निर्णायक र समग्र कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।

    विजयी समूहलाई बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले पुरस्कार वितरण गरेका छन् ।

    कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले तीज सप्ताहन्न उत्सवले बन्दीपुरको पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको बताए । लिमिटेडका अध्यक्ष शर्माले तीजलाई पर्यटनसँग जोडेर कार्यक्रम गरिएको बताए ।

    सप्ताहन्न कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगायतको प्रस्तुती रहेको थियो ।

    सोही अवसरमा धार्मिक शक्तिपीठहरु सिद्धेश्वर महादेव, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, तीनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराइएको थियो ।