तनहुँमा डेङ्गु सङ्क्रमित दुई हजार सात सय नजिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा डेङ्गु सङ्क्रमित दुई हजार सात सय नजिक

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    दमाैली । तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या करिब दुई हजार सात सय पुगेको छ । स्वास्थ्य कार्यालय तनहँुका अनुसार जिल्लाका नौ स्थानीय तहका दुई हजार छ सय ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो एक हप्ताको अवधिमा तीन सय डेङ्गु सङ्क्रमित बढेका छन् । कार्यालयका सूचना अधिकारी सुदीप कंडेलका सबैभन्दा बढी आँबुखैरेनीमा एक हजार चार सय ३४ सङ्क्रमित छन् । कूल सङ्क्रमितको ५३ प्रतिशत बिरामीमात्रै आँबुखैरेनीमा छन् ।

    त्यस्तै व्यास नगरपालिकामा छ सय ८४, शुक्लागण्डकी नगरपालिकामा तीन सय ५६, भिमाद नगरपालिकामा १४, भानु नगरपालिकामा ३६, म्याग्दे गाउँपालिकामा ३०, बन्दीपुर गाउँपालिकामा एक सय ३५, ऋषिङ गाउँपालिकामा तीन, देवघाट गाउँपालिकामा १३ सङ्क्रमित छन् । त्यस्तै बाहिरी जिल्ला घर भएका १३ जनामा पनि डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका घिरिङ गाउँपालिकामा भने सङ्क्रमित नभेटिएको सूचना अधिकारी कंडेलले बताए।

    एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए।

    पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाईबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।