एकीकृत घुम्ती शिविरबाट दुई दिनमा एक हजार बढी लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकीकृत घुम्ती शिविरबाट दुई दिनमा एक हजार बढी लाभान्वित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रुपमा प्रदान गर्न घुम्ती शिविर आयोजना गरेकामा दुई दिनमा एक हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । आइतबारदेखि सुरु शिविरको दोस्रो दिन साेमबारसम्म एक हजार एक सय ८२ जनाले घरदैलोमै सेवा पाएका छन् ।

    म्याग्दे गाउँपालिका–१ बाख्रे गुरुङ सामुदायिक भवनमा पहिलो दिन पाँच सय १२ र सोही वडाको बच्र्याङ र वडा कार्यालयमा दोस्रो दिन आज गरिएको शिविरमा छ सय ७० जनाले सेवा लिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत आकाशजङ्ग गुरुङले जानकारी दिए।

    शिविरको दोस्रो दिन आज स्वास्थ्य शाखातर्फ दुई सय तीन, पशु सेवा उपशाखातर्फ एक सय ५१, प्रशासनिक सेवातर्फ १९, कृषि सेवा उपशाखातर्फ दुई सय ६१, महिला तथा बालबालिका उपशाखातर्फ ३६ जनाले सेवा पाएको उनले बताए ।

    शिविरको पहिलो दिन वडा नम्बरको बाख्रे गुरुङ सामुदायिक भवनमा पशुसेवा उपशाखातर्फ ७२, कृषि सेवा उपशाखातर्फ एक सय १३, महिला तथा बालबालिका शाखातर्फ १३, वडा कार्यालयको प्रशासनिक कार्यतर्फ आठ, स्वास्थ्य सेवा उपशाखातर्फ दुई सय ७२ र आयुर्वेद शाखातर्फ ४० जनाले सेवा लिएका थिए ।

    पालिकाका सेवा लिन पालिकाकै केन्द्रमा पुग्नुपर्ने बाध्यताको अन्त्यका लागि घुम्ती शिविर आयोजना गरिएपछि घरदैलोमै सेवा पाउँदा सर्वसाधारणलाई सहज भएको छ । आइतबारदेखि सुरु भएको एकीकृत सेवा शिविर कात्तिक ९ गते सकिनेछ ।

    पालिकाको पहुँच भन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजस्व सङ्कलन लगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्धेश्य अनुसार एकीकृत घुम्ती शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

    शिविरमा स्वास्थ्य तर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परीक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    कृषितर्फ उन्नत जात बीउविजन वितरण, विभिन्न अनुदानका सूचनाका माग
    सङ्कलन, पशु सेवा तर्फ बिरामी पशुपंक्षीहरुको उपचार, पशु बन्ध्याकरण सेवा,
    पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरिनेछ ।

    पञ्जिकरण सेवातर्फ जन्म दर्ता, बसाइसराइ, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिसहरु, उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सूचीकृत सेवा उपलव्ध गराइने अधिकारीले बताए।