


दमाैली । बडादशैंको सातौ दिन बिहीबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा फूलपाती भित्र्याइएको हो ।
बाजागाजा सहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएर गएको डोली कालिका मन्दिरमा भित्र्याइएको हो । त्यसअघि विपी वनवाटिकास्थित बेलको रुखमा पूजाआजा गरिएको फूलपाती व्यवस्थापन समितिका संयोजक एवं सहिद कालिका जङ्गल पार्कका निवर्तमान अध्यक्ष इश्वरबहादुर विष्टले जानकारी दिए ।








फूलपाती भित्र्याउने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, व्यास नगरपालिकाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख, सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिको लगायतको सहभागिता थियो ।