काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन्।
दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा प्रदान गरेको राष्ट्रपति सचिवालयले जनाएको छ। राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं सर्वसाधारण राष्ट्रपति कार्यालय पुगेका थिए।
विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन्। राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरूले पनि निरन्तरता दिँदै आएका छन्।