दमाैली । शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको छैटौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयले जितेको छ । आज सम्पन्न प्रतियोगितामा कूल २८ पदक जित्दै पञ्चमुनीले उपाधि जितेको हो ।
पञ्चमुनीदेवले १५ स्वर्ण, १० रजत र तीन कास्य पदक जितेको नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुशील नरालले जानकारी दिए। उपाधिसँगै पञ्चमुनीदेवले नगद रु २० हजार प्राप्त गरेको छ ।
घारीस्थित तालवेशी माध्यमिक विद्यालय प्रतियोगितामा दोस्रो भएको छ । तालवेशीले पाँच स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ । तालवेशीले नगद रु १५ हजार प्राप्त गरेको छ ।
बेलचौतारास्थित नेपाल प्रहरी विद्यालय तेस्रो भएको छ । प्रहरी विद्यालयले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । प्रहरी विद्यालयले नगद रु दश हजार प्राप्त गरेको छ । गाउँफर्कोदय माध्यमिक विद्यालयले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ । खैरेनीटारस्थित अरनिको माध्यमिक विद्यालयले एक स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेको छ ।
शुक्रबार सुरु भइ आज सकिएको प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको थियो ।