‘प्युघर क्षेत्रका वासिन्दा सेवाका लागि हिलेखर्क पुग्न पर्दैन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ‘प्युघर क्षेत्रका वासिन्दा सेवाका लागि हिलेखर्क पुग्न पर्दैन’

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०८१, सोमबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ को सेवा कार्यालय विस्तार गरिएको छ । उक्त वडाको प्युघरफाँटमा साेमबार सेवा कार्यालय विस्तार गरी उद्घाटन गरिएको छ ।

    हप्तामा दुई दिन उक्त सेवा कार्यालयबाट जनताले सेवा पाउने वडाध्यक्ष दिलीप गुरुङले जानकारी दिए। त्यस भेगका जनतालाई वडा कार्यालयको केन्द्र हिलेखर्क जान समस्या भएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको उनकाे भनाइ छ ।

    उनले भने, “यस भेगका जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुट्याउनुपर्ने बाध्यता थियो । अब सेवा कार्यालयबाटै सहज रुपमा जनताले सेवा पाउनेछन् ।”

    सेवा कार्यालयको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनताले सहज र सरल तरिकाले सेवा पाउनुपर्ने बताए। जनप्रतिनिधि जनताका शासक नभइ सेवक भएकाले जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नुपर्नेमा उनकाे जोड थियो ।

    उनले भने, “हिलेखर्कसम्म पुग्न अप्ठ्यारो परिरहेको थियो । प्युघर क्षेत्र वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउन सेवा कार्यालयबाट सहज हुनेछ ।”

    चुमानले सेवा कार्यालयले जनतासँगको निकटता बढाउने र प्रशासनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्नेछ । यो कार्यालय खोल्नुका प्रमुख उद्धेश्य भनेको जनतालाई स्थायी र दीर्घकालिन रूपमा सेवा दिने हो ।”