काठमाडौ । भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएको छ। बुधबार राति करिब डेढ बजे भएको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रयागराज सिटीका एक डाक्टरले नाम नबताउने सर्तमा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले उल्लेख छ। ती डाक्टरका अनुसार भागदौडमा परी धेरै मानिस घाइते भएका छन्। प्रशासनले भने यसबारे कुनै जानकारी दिएको छैन।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन गरी अवस्थाको जानकारी लिएका छन्। मुख्यमन्त्री कार्यालयले भने कुनै अफवाहमा नफस्न अपिल गरेको छ। उत्तर प्रेदशका मुख्यमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘प्रशासनको निर्देशन पालना गर्नुहोस्। कुनै पनि अफवाहमा ध्यान नदिनुहोस्। श्रद्धालुहरू जहाँ हुनुहुन्छ, त्यही घाटमा स्नान गर्नुहोस्।’
औँसीका अवसरमा मंगलबार रातिदेखि अमृत स्नान चलिरहेको थियो। सोही क्रममा घटना भएको समाचारमा उल्लेख छ। प्रत्यक्षदर्शीहरूका अनुसार अचानक भीडले अवरोध तोड्दै घाटमा बसेका मानिसलाई कुल्चिएको थियो। प्रयागराज मेला प्राधिकरणकी ओएसडी आकांक्षा राणाले पत्रकारहरू भनिन्, ‘केही स्थानमा घेराबार टुटेको खबर आएको छ। जसले भागदौडको स्थिति सिर्जना गर्यो तर गम्भीर अवस्था छैन।’
संगममा उपस्थित साध्वी तथा केन्द्र सरकारकी पूर्वमन्त्री साध्वी निरञ्जन ज्योतिले घटनाप्रति दुःख व्यक्त गर्दै हालका लागि अमृत स्नान रद्द गरिएको जानकारी दिएकी छिन्।
यसका लागि अखाडा परिषद्को बैठकपछि मात्र आगामी निर्णय लिइने बताइएको छ। अखिल भारतीय अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘जनताको हितलाई ध्यानमा राख्दै अखाडाहरूले आज स्नान नगर्ने निर्णय गरेका छन्’, उनले भनेका छन्।
संगममा भागदौडजस्तो स्थिति सिर्जना हुँदा धेरै व्यक्ति विशेषगरी महिला तथा बालबालिका घाइते भएका थिए। परिवारका सदस्यहरू हराइरहेका आफन्तहरूको खोजीमा अस्थायी अस्पतालबाहिर लाइनमा उभिएका छन्। उद्धारकर्मीहरू घाइतेहरूलाई सहायता गरिरहेका थिए। यसैगरी प्रहरी भीड नियन्त्रण गर्ने प्रयासमा थियो। भागदौड भएको स्थानमा मानिसका लुगा, कम्बल र झोला छरपस्ट थिए।