दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडकखण्डमा बढ्दो दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको सोमबार शुन्य समयमा बोल्दै सांसद वाग्लेले उक्त सडकमा बढिरहेको दुर्घटना न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद वाग्लेले भने, “पृथ्वीराजमार्गको ७२ किलोमिटर खण्ड तनहुँमा पर्छ । एडिबीको ऋणमा आँबुखैरेनी पोखरा विस्तार भइरहेको छ । ४० किलोमिटर खण्ड मेरो निर्वाचन क्षेत्रमा पर्छ । अहिले यो खण्डको काम ८० प्रतिशत प्रगति पुगेको छ । चिल्लो सडक बन्दा खुसी छु तर बढ्दो दुर्घटनाले चिन्ता थपिएको छ ।”
सांसद वाग्लेले औसतमा पछिल्लो तीन वर्ष २५ जनाको सडक दुर्घटनामा मृत्यु भएको भन्दै यो वर्ष मात्रै ४६ जनाले ज्यान गुमाइसकेको बताए । जिल्ला प्रहरी नेतृत्वसँगको संवादमा उक्त खण्डमा एक हजार पाँच सय सडक सङ्केत, जोखिमयुक्त घुम्तीमा प्रहरी निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको उनले उल्लेख गरे ।